निलो आकाश माथि चिल फन्को मारिरहेको थियो । संयोगले आमालाई सोध्यो, ‘आमा चिलले मलाई लिन आएको हो ? ’ आमाले ७ बर्षे छोराको कुरा सुनेर हाँस्दै भनिन्, ‘चिलले त बदमास फुच्चेलाई पो लान्छ । मेरो छोरा त ज्ञानी छ, हो कि होइन ?’
अलमल्ल परेको संयोगले आमालाई हे¥यो र आमाको हात समाउँदै घर भित्र जाऊ भन्दै तान्यो । मूल ढोका भित्र छिरेपछि आमा भान्छा तिर लागिन् । अनि किन हो, संयोग दगुर्दै उसको सानो बिछ्यौना मुनि गएर लुक्यो । संयोगको मुटु जोडसँगले ढुक ढुक गरिरहेको थियो । उसलाई किन हो एकदमै डर लागिरहेको थियो । अघिको आकाशमा उडिरहेको कालो चिल ऊ लुकेको ठाउँमा आउँदैन होला, उसले तर्कना ग¥यो ।
अस्ति मात्र उसको विद्यालयमा चोर पुलिस खेल्दा, उसको साथी अजयले भनेको थियो कि ‘चिलले त हामी जस्तो सानो बच्चालाई टिपेर लान्छ अनि आँखा झिक्छ रे ।’ अजयले अनि आकाशमा चोरि औंलाले देखाउँदै “ ऊ चिल आयो” भनेपछि संयोग र उसको अरु साथीहरु सबै डराएर भागे अनि कक्षाकोठामा पसेका थिए ।
संयोगको मुटु अझै बेस्कन ढुकढुक गरिरहेको थियो । अनि उसको हातमा त कति धेरै पसिना पनि आइसकेको थियो ।
आमाले उसलाई कति माया गरेर “मेरो सानु, मेरो प्यारो ज्ञानी छोरा” भन्नु हुन्छ है, संयोगले सम्झियो । उसलाई बाबाको भन्दा पनि आमाको कति धेरै माया लाग्छ । तर, आमालाई के थाह, संयोग ज्ञानी छैन भनेर .....अस्ति भर्खर उसले गृहकार्य छैन भनेर आमा सँग झुठो बोलेको थियो, अनि विद्यालयमा शिक्षिकाले उसलाई कक्षामा उठ्बस गर्न लाउनु भएको थियो । यो कुरा त आज सम्म आमालाई पनि थाह छैन । अनि हिजो मात्र ऊ आमा घरमा नभएको बेला, बाहिर सडकमा एक्लै खेल्न नजाने आदेशलाई मानेको थिएन । अनि अझ, ऊ खाना नखाने, ननुहाउने विद्यालय नजाने भन्दै रुने अनि ओछैयानमा सु सु गर्ने गर्दा आमाले उसलाई “बदमाश” भनेको पनि सम्झियो ।
अब भने संयोगलाई झन् डर लाग्यो कि यदि ऊ लुकेको ठाँउबाट बाहिर निस्कियो भने त, उसलाई त्यो बाहिरको चिल लाग्छ होला भनेर । त्यो चिलले बदमाश संयोगलाई त मुसालाई झुण्डाएको जस्तै गरेर पर लान्छ होला......अनि......पर लगेर अरु धेरै चिल भएको ठाँउमा झरिदिन्छ होला..... अनि......सबै चिलहरु मिलेर उसको आँखा झिक्न आँउदैछन् होला..... अनि अब उसले कहिल्यै पनि केहि देख्न सक्दैन....... आफ्नो आमालाई पनि....
‘आमा ! आमा......मेरो आँखा नझिक आमा... ऐ..या.....या...... ’ भनेर छोरा रोएको आवाज सुनेर संयोगको आमा छोरा खोज्दै आउँछिन् । अनि छोरालाई कोठामा नभेटेपछि कहाँबाट आवाज आउँदै छ भनेर हेर्दा त बिछ्यौना मुनि निदाएर रुँदै गरेको छोरालाई देखिन् ।
‘बाबु उठ ! मेरो ज्ञानी छोरा, सानु सपनामा के आयो ? उठ ।‘ भन्दै आमाले संयोगलाई उठाउँछिन् । संयोग रुँदै उठ्छ र आमालाई अंगाल्छ ।
‘ आमा चिल खै ?’ संयोगले आमालाई सोध्छ ।
‘ चिल त गयो, ऊ पर बदमाश फुच्चेलाई लिन... मेरो छोरा त ज्ञानी, असल छ, नडराऊ ’, भन्दै आमाले छोराको आँसु पुछिदिन्छिन् ।
अनि ढुक्कको लामो श्वास फेर्दै संयोगले भन्छ, ‘ आमा अब देखि म कहिल्यै पनि बदमाश हुन्न हस्......म ज्ञानी हुन्छु ल, अनि त चिलले मलाई कहिले पनि लान आउँदैन हई, अनि मेरो आँखा पनि झिक्दैन हई ?’
छोराको कुरा सुनेर आमा छक्क पर्छिन र छोरालाई गालामा माया गर्दै माम खान हिड्न भन्छिन् । अनि संयोग ‘हस् आमा, म ज्ञानी छु, सबै माम खान्छु ’ भन्दै आमाको धोतीको सप्को समात्दंै पछि पछि भान्सा तिर जान्छ ।
—समाप्त—